काठमाडौँ, २२ साउनः
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय शिक्षा विधेयक वर्तमान सरकारले नै अड्काएको आरोप लगाउनुभएको छ ।
राष्ट्रियसभागृहमा आज माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले आयोजना गरेको ‘विद्यार्थीसँग कमरेड प्रचण्ड, शैक्षिक संवाद’ कार्यक्रममा अध्यक्ष दाहालले सुरुमा एमाले र कांग्रेसकै कारण विधेयक आउनै ढिला भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सरकारको सार्वजनिक शिक्षा सुधारतर्फ ध्यान छैन ।”
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले विद्यार्थीका लिखित प्रश्नको जवाफ दिने क्रममा संसद्बाट विद्यालय शिक्षा विधेयक पारित भएका खण्डमा र उच्चस्तरीय शिक्षा सुधार आयोगका सुझाव कार्यान्वयन गरेका खण्डमा वर्तमान शिक्षाका समस्या धेरै हल हुने पनि बताउनुभयो ।
अध्यक्ष दाहालले आफू नेतृत्वको सरकार हुँदा विश्वविद्यालयमा हुने राजनीतिक भर्ती केन्द्रलाई तोडेर मेरिटोक्रेसिमा नियुक्तिको थालनी गरेको बताउनुभयो ।