काठमाडौं-
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले बहुविवाहलाई वैधता दिन लागिएको चर्चा झुटो भएको दाबी गर्दै त्यस्ता कुनै विधेयक सदनमा पेश नहुने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै बुधबार मन्त्री चौरसियाले बहुविवाहलाई वैधता दिने तयारी नभएको उल्लेख गर्दै समाजलाई नकारात्मक असर पार्ने तथा सामाजिक मूल्य र मान्यतामा प्रतिकुल प्रभाव पार्नेगरी बहुविवाह लगायतको कुनै पनि विधेयक सदनमा पेश नहुने प्रतिबद्धता व्यक्त गरेका हुन्।
मन्त्री चौरसियाले संसद्मा भने-‘सामाजिक व्यवस्था नै खलल गर्नेगरी कानुन निर्माण गर्ने विषयमा कोही पनि सहमत हुन सक्दैन, नेपाल सरकार मन्त्रिपरिषद्को विधायन समितिमा विधेयकको मस्यौदा विचाराधीन रहेकै अवस्थामा केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा समाचार प्रकाशन भएको र यस विषयमा माननीय सांसदज्युहरुले चासो व्यक्त गरी सम्मानित सभामा उठाउनुभएका विषयहरूप्रति मन्त्रालयको ध्यानाकर्षण भएको छ।’
कानुन मन्त्रालयले विद्यमान प्रावधानलाई संशोधन गरेर ‘विशेष परिस्थितिमा’ बहुविवाहलाई वैधता दिने गरी मस्यौदा तयार भएको समाचार सार्वजनिक भएपछि यसको तीव्र आलोचना भइरहेको छ।
मिडिया, सामाजिक सञ्जाल र विभिन्न फोरमहरूमा यसको विरोध भइरहेको छ।






