महोत्तरी ।
उखुखेती गर्ने किसान फेरि आन्दोलित भएका छन् । उखुमा सरकारले दिँदै आएको अनुदान निरन्तर हुनुपर्ने उनीहरुको माग छ ।
महोत्तरीमा उखुखेती गर्ने किसानको संख्या १५ हजार हाराहारी छ । यसअघि सरकारले दिँदै आएको चिनी उद्योगमा बुझाइएको उखुमा अनुदान प्रतिक्विन्टल ७० रुपैयाँ यसपालि बजेटमा नपरेपछि किसान आन्दोलित भएका छन् ।
जिल्ला प्रशासन कार्यालयमार्फत आइतबार उनीहरुले अनुदानको निरन्तरताका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् । किसानले मंगलबार गौशाला–१ रामनगरस्थित एभरेस्ट चिनी उद्योग अगाडि प्रदर्शन गरे ।
‘यस वर्षको बजेटमा अनुदानको विषय नसमेटिएपछि निरन्तर सरकारको ध्यानाकर्षण गराउँदै आएका छौँ,’ उखु उत्पादक कृषक संघका अध्यक्ष नरेशसिंह कुशवाहाले भने, ‘विश्वास छ, हाम्रो मागको सुनवाइ हुनेछ ।’
उखुखेती किसान आफ्ना प्रतिनिधि संस्था उखु उत्पादक कृषक महासंघ र उखु उत्पादक कृषक संघका पदाधिकारीका साथ आन्दोलनमा छन् । उखु उत्पादक कृषक महासंघका सदस्य महाशंकर थिङका अनुसार अनुदानलाई निरन्तरता दिनुपर्ने, गत आर्थिक वर्ष २०८१/८२ को अनुदानबापतको रकम तुरुन्त किसानलाई उपलब्ध गराउनुपर्ने, बर्सेनि उखुको मूल्य निर्धारण गरिनुअघि उखु किसानका प्रतिनिधि, चिनी उद्योग र सरकारबीच सहमति गरिनुपर्नेलगायतका माग किसानले राखेका छन् ।
माग सम्बोधन नभए भदौ ८ देखि राजधानीकेन्द्रित आन्दोलन गर्ने चेतावनी संघले जनाएको छ । महोत्तरीमा गत आवको उखुबाट किसानले २१ करोड ७२ लाख ९१ हजार रकम पाउनुपर्ने छ । त्यस्तै गतमा अनुदान पाउनुपर्ने किसानको संख्या १४ हजार ५३३ छ ।
यसपालि यो संख्या १५ हजारमाथि पुग्ने उखु उत्पादक कृषक संघका अध्यक्ष कुशवाहाले बताए । आव २०८०/८१ मा भने जिल्लाका १४ हजार ४४४ किसानले अनुदानबापतको जम्मा २० करोड ३३ लाख पाएका थिए ।






