काठमाडौँ २० साउन
जल तथा मौसम विज्ञान विभागले पश्चिम नेपालका तीन जिल्लामा भारी वर्षापछि आकस्मिक बाढीको जोखिम बढेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विभागले आज बिहान ८ः३० बजे जारी गरेको विशेष बाढी सूचना अनुसार दाङ, बाँके र बर्दिया जिल्लाका विभिन्न स्थानमा पछिल्लो ६ घण्टामा भारी वर्षा मापन गरिएको छ।
विभागका अनुसार दाङ जिल्लाको तुलसीपुर, अम्बापुर र जलकुन्डी वर्षामापन केन्द्र तथा आसपासका क्षेत्रमा ठुलो पानी परेको छ। त्यसैगरी, बाँके जिल्लाको पश्चिम राप्ती र सिक्टा तथा बर्दिया जिल्लाको मानपुर वर्षामापन केन्द्र र वरपरका इलाकामा पनि भारी वर्षा रेकर्ड गरिएको छ।
लगातारको भारी वर्षाका कारण त्यस क्षेत्र भएर बहने बबई नदी, पश्चिम राप्ती नदी, डुडुवा खोला लगायत अन्य साना नदी तथा खहरे खोलाहरूमा पानीको बहाव आकस्मिक रूपमा बढ्न सक्ने चेतावनी दिइएको छ। नदीहरूमा आउन सक्ने बाढीका कारण तटीय क्षेत्र तथा होचो भूभागहरू डुबानमा पर्न सक्ने जोखिम उच्च रहेको विभागले जनाएको छ।









