रोल्पा, साउन १७
कृषि तथा वन विश्वविद्यालय अन्तर्गतको प्राकृतिक स्रोत व्यवस्थापन कलेज, रोल्पामा कृषि जैविक विविधता फार्मको स्थापना गरिएको छ।
कृषि जैविक विविधता संरक्षणका लागि सोमबार ४०० भन्दा बढी विभिन्न वनस्पति प्रजातिहरू रोपेर फार्मको स्थापना गरिएको प्रिन्सिपल जीवन आरसीले जानकारी दिनुभयो। माडीचौर स्थानीय समुदायद्वारा गरिएको श्रमदान र विद्यार्थीहरूको अथक प्रयासले उक्त कार्यक्रम सफल रूपमा सम्पन्न भएको प्रिन्सिपल आरसीको भनाइ छ।
यस कार्यक्रममार्फत दीर्घकालीन प्रयोगात्मक सिकाइको थालनी भएको कलेज स्रोतको दाबी छ। कृषि जैविक विविधता फार्मले भविष्यमा एग्रोफरेष्ट्री, सुगन्धित तथा औषधीय वनस्पति, बागवानी, दिगो भूमि प्रयोग व्यवस्थापन लगायतका विषयमा अध्ययन, अनुसन्धान तथा अभ्यासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।






