भरतपुर,१७ साउन ।
भरतपुरमा राष्ट्रिय युवा संघ नेपाल कप फुटबल सुरू भएको छ । राष्ट्रिय युवा संघ भरतपुर महानगर कमिटीको आयोजनामा आजबाट सुरु भएको प्रतियोगितामा राष्ट्रिय युवा संघ कालिका नगरकमिटीले जित हात पारेको छ ।
भरतपुर–७, कृष्णपुरको मैदानमा भएको उद्घाटन खेलमा कालिका नगरकमिटीले चितवन जिल्ला कमिटीलाई २–१ ले हराएको हो । कालिकाको जितमा विजय श्रेष्ठ र भीम गुरूङले गोल गरे । चितवन जिल्ला कमिटीका लागि वसन्त कुमालले एक गोल गरे ।
यो जितसँगै कालिका नगरकमिटी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा शनिबार राष्ट्रिय युवा संघ भरतपुर महानगर कमिटी र इच्छाकामना गाउँ कमिटी भिड्नेछन् । खेल दिउँसो ४ः०० बजे हुनेछ ।
२३ गतेसम्म चल्ने प्रतियोगितको विजेताले ट्रफीसहित एक लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै उपविजेताले ट्रफीसहित ५० हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिता संयोजक सागर बोम्जनले जानकारी दिए ।