गण्डकी, १४ साउन :
परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा आरजु राणा देउवाले ससाना विषयमा पार्टीमा झगडा गरेर समय खेर नफाल्न कांगेसका नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।
नेपाल तरुण दल कास्कीद्वारा आज पोखरामा आयोजित ‘नेपालको परराष्ट्रनीति, जलवायु परिवर्तन एवं तरुण युवाको सरोकार विषयक संवाद कार्यक्रम’मा उहाँले आन्तरिक विवादलाई पार्टीभित्रै मिलाउनुपर्ने बताउनुभयो ।
“दलमा, सङ्गठनमा झगडा हुन्छ, तर त्यसलाई त्यहीभित्र मिलाउनुपर्छ, ससाना विषयमा चित्त दुखाएर पार्टी नै छाडेर हिँड्ने, नेताहरूलाई गाली गर्ने प्रवृत्ति कांग्रेसका सदस्यहरूले त्याग्नुपर्छ”, उहाँले भन्नुभयो, “परिवारभित्र पनि झगडा हुन्छ, तर कसैले घर छोडेर त हिँड्दैन, पार्टी पनि एउटा परिवार हो, झगडा भए पनि भित्रै मिलाउनुपर्छ ।”
कांग्रेसकासामु मुलुकलाई नेतृत्व गर्ने राम्रो अवसर आएको भन्दै उहाँले पार्टीको आन्तरिक एकतालाई सुदृढ पार्नुपर्ने बताउनुभयो । साना कुरामा पार्टीमा मनमुटाव गरेर बस्न नहुने उहाँको भनाइ छ ।