काठमाडौं, साउन १२ –
सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ जना गाउँबाटै हराएका छन् ।
गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी उर्मिला हायुको १६ जनाको परिवार सोमबार बिहानदेखि हराएपछि प्रहरी खोजतलासी सुरु गरेको छ ।
सिन्धुलीका प्रहरी उपरीक्षक (एसपी) लालध्वज सुवेदीले भने, ‘घटनाबारे सूचना पाउने बित्तिकै प्रहरीको टोली हायुको घरमा पुगिसकेको छ । हायुको घरमा सामान्य क्षति देखिएको छ । हायु परिवारले पालेको कुखुरा, बाख्रा, भैंसी अलपत्र अवस्थामा रहेको पाइएको छ । तर हायुको परिवारका कोही सदस्य पनि घरमा छैनन् ।’
स्थानीय जनप्रतिनिधि लगायत गाउँलेसँग उनीहरूको बारेमा बुझ्ने काम भइरहेको उनले बताए । बेपत्ता हुनेमा उर्मिला हायु र उनका ६ छोरा, ६ छोरीसहित छन् ।






