काठमाडौँ, ८ साउनः
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशको समृद्धि अब सपनामा सीमित नभइ सङ्कल्प बन्नुपर्ने बताउनुभएको छ ।
‘नेपाल खबर डटकम’को १०औँ वार्षिक दिवसका अवसरमा आयोजित आर्थिक सम्मेलन ‘राइजिङ नेपाल समिट’लाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले समृद्धि केही सीमित व्यक्तिले नाफा कमाउने कुरा मात्र नभइ सामाजिक न्याय समानता र विश्वासको स्रोत भएको बताउनुभयो ।
समृद्धिका लागि राष्ट्रिय पुँजीको निर्माण तथा रुग्ण उद्योगको पुनःव्यवस्थापन र पुनःउत्थान गरिनुपर्ने र प्राकृतिक तथा सांस्कृतिक सम्पदालाई श्रृङ्गार गरेर पर्यटनको विकासलाई अघि बढाउनुपर्ने पूर्वराष्ट्रपति भण्डारीले बताउनुभयो ।
पाल्पाली करुवा, भोजपुरे खुकुरी र पाटनका ढलौटका उत्पादनलाई ब्राण्डिङ गरी उपहार सामग्रीका रुपमा अन्तरराष्ट्रिय बजारमा लैजान सकिने उहाँको भनाइ थियो ।
उहाँले युवा उद्यम बढाउन आवश्यक नीति बनाउने तथा श्रम पलायनलाई निरुत्साहित गर्नुपर्ने बताउनुभयो ।