काठमाडौँ, ०४ साउन ।
बाढीले क्षतिग्रस्त स्याफ्रुवेँसी –रसुवागढी सडक खुलेको छ । १३ दिनपछि ट्र्याक खोल्न सफल भएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेशी रसुवागढी सडक योजनाका सब इन्जिनियर तथा प्राविधिक रूपनारायण पौडेलले जानकारी दिए ।
‘११ औँ दिनको कडा मेहनतपछि बाटो खुल्यो । बाटो साँघुरो छ । सबै प्रकारका सवारी एकतर्फी सञ्चालन गर्न सकिने भएको छ ,’ उनले भने ।
बाढीले क्षति गरेको दोस्रो दिनदेखि सडक मर्मत सुरु गरिएको थियो । शुक्रबार खुलाइने भनिए पनि कडा चट्टानसहितको भिर कटन गर्न नसक्दा असफल भएको र आज खुलाउन सफल भएको उनको भनाइ छ ।
गत असार २२ गते बिहानै आएको बाढीले चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी जोड्ने सडक र मितेरी पुल क्षतविक्षत बनाएको थियो । चीनतर्फबाट आएको बाढीले गोसाईंकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी क्षेत्रमा वितण्डा मच्चाउँदा ठुलो जनधनको क्षति भएको छ ।
मितेरी पुलमा दसैँअघि बेलिब्रिज जडान गर्न चीनसँग सहमति भएको छ ।






