काठमाडौँ ,साउन ४ –
तनहुँको व्यास नगरपालिका–१२ स्थित छिर्कनमा आइतबार बिहान माइक्रो बस दुर्घटना हुँदा चार जना यात्रु घाइते भएका छन्।
पोखराबाट काठमाडौं जाँदै गरेको बा ४ ख ८४१३ नम्बरको माइक्रो बस (हाइस) बिहान साढे ७ बजे चालकले सन्तुलन गुमाउँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (प्रनाउ) अशोक थापाले जानकारी दिनुभयो।
घाइते हुनेमा कास्कीको पोखरा महानगरपालिका–६ का ४० वर्षीय रुद्रबहादुर पहाडी, तनहुँको शुक्लागण्डकी नगरपालिका–५ का ३० वर्षीय रामु थापा, धादिङको गङ्गाजमुना गाउँपालिका–२ का २० वर्षीय सहचालक कृष्णबहादुर तामाङ र सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–३ का ५४ वर्षीय रुद्रप्रसाद कटेल रहेका छन्।
घाइते सबैको उपचार दमौलीस्थित रत्नहरि अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।






