काठमाडौं,साउन ३-
नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण ‘पेन्डिङ’ अवस्थामै रहेको जनाएको छ ।
एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पोलिटब्युरो बैठकको बारेमा जानकारी गराउँदै भने, “उहाँको सदस्यता पेन्डिङमा छ अर्थात् जहाँ जस्तो अवस्थामा छ स्थगन अवस्थामा छ ।” एमालेको विधानको धारा ८ मा सदस्यता त्याग गरेको व्यक्तिको नवीकरण हुन नसक्ने उल्लेख गरिएको उनको धारणा थियो ।
धारा ८ मा पार्टी सदस्यताको समाप्ति र पुनः प्राप्तिबारे व्यवस्था गरिएको छ । जहाँ स्वेच्छाले सदस्यता परित्याग गरेको व्यक्तिको सदस्यता समाप्ति हुने र पुनः प्राप्तिसम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुने व्यवस्था गरिएको छ ।
संगठन विभागबाट कहीँ त्रुटि भएको भए पनि सच्याउन तयार भइसकेको बताउँदै उनले भने, “यो राजनीतिक विषयको कुरा हो । पूर्वराष्ट्रपतिलाई कानुनी अड्चन खडा गरेर पार्टी प्रवेश गर्न दिइँदै छैन भन्ने अफवाहमात्रै हो ।
उहाँलाई दिएको गौरवको अस्तित्व के हुने भन्नेमात्रै विषय हो । यो कुनै व्यक्ति विशेषको कुरा भएन । यो गणतन्त्रसँग जोडिएको विषय पनि हो ।”