काठमाडौँ, २२ असारः
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले समयमै मल र बीउ पुर्याउन आफूहरु लागेको बताउनुभएको छ ।
प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा रासायनिक मलका विषयमा भएको छलफलका क्रममा उहाँले प्रत्येक वर्ष मलको समस्या दोहोरिने गरेकाले त्यस्तो अवस्था नल्याउनका लागि कानुन नै निर्माण गर्न लागेको बताउनुभयो । रासायनिक मल खरिद गर्ने संस्था नै फरक स्थापना गरिनुपर्नेमा पनि मन्त्री खधिकारीले जोड दिनुभएको थियो ।
रासायनिक मल खरिद गरेर ल्याउन २५० दिनभन्दा बढी लाग्ने भएकाले १५९ दिनमा झार्ने गरी निर्देशिका संशोधन गर्न लागिएको उहाँले बताउनुभयो । एउटा वडाको मल अर्को वडामा जान १२० दिन लाग्ने गरेकाले छिटो जाने गरी व्यवस्था गर्न लागिएको पनि उहाँले उल्लेख गर्नुभयो । तराईमा १० र पहाडमा १५ दिनमा एउटा वडाको मल अर्को वडामा जाने गरी व्यवस्था गरिने मन्त्री अधिकारीको प्रतिबद्धता छ ।