चितवन, असार २० –
रोटरी क्लब अफ चितवन सन् १९९१ देखि निरन्तर सेवामा समर्पित रोटरी क्लब अफ चितवनको स्थापना सन् १९९१ मा भएको हो। यो क्लब विगत तीन दशकदेखि चितवनमा समाजसेवा र समुदाय विकासको एक उदाहरणीय संस्था बनिरहेको छ। स्थापना कालदेखि नै क्लबले स्वास्थ्य, शिक्षा, सरसफाइ, विपद् व्यवस्थापन, जीविकोपार्जन लगायतका विविध सामाजिक कार्यहरू निरन्तर सञ्चालन गर्दै आएको छ।
क्लबले आन्तरिक र अन्तर्राष्ट्रिय सहकार्यमा आधारित विभिन्न ग्लोबल ग्रान्ट परियोजनाहरू पनि सफलतापूर्वक सम्पन्न गरेको छ, जसले दीगो सामाजिक प्रभाव विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ।
आजसम्म क्लबमा ३४ जना अध्यक्षहरूले नेतृत्व प्रदान गरिसक्नु भएको छ। हाल क्लबको ३५औं अध्यक्षको रूपमा रामचन्द्र अधिकारीले कार्यभार सम्हालिरहनु भएको छ, जसले “सेवा नै सर्वोपरि” भन्ने रोटरी मूलमन्त्रलाई आत्मसात गर्दै क्लबको नेतृत्व गरिरहनु भएको छ।
सशक्त आधार, दूरदर्शी नेतृत्व र समर्पित सदस्यहरूको साथमा, रोटरी क्लब अफ चितवनले आगामी दिनहरूमा पनि सामाजिक रूपान्तरणको अभियानलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने विश्वास लिएको छ ।