काठमाडौँ, १४ असारः
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले एकढिक्का भएकाले कसैले टुक्रयाउने नसक्ने बताउनुभएको छ ।
जननेता मदन भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजित जबजका तीन दशक कार्यक्रममा उहाँले एमाले टुक्रयाउने सपना नदेख्न चेतावनी दिनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, “नेकपा (एमाले) सफलताका साथ अगाडि बढिरहेको छ, विगतमा पनि विभिन्न नाममा पार्टी फुटाइएको थियो, तर हाम्रो पार्टी फेरि मजबुतीका साथ अगाडि बढेको छ, एमाले कसैले धुलो पार्न सकिने शक्ति होइन ।” उहाँले एमाले एक रहेको र एक रहने उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री ओलीले एमालेले सुरु गरेको मिसन–८४ सफल पार्न आग्रह गर्दै नेकपा (एमाले) माक्र्सवादी चिन्तन र बहुदलीय जनवादलाई आत्मसात् गरेकाले निकै बलियो रहेको उल्लेख गर्नुभयो ।