बुटवल असार ६,
बुटवल-नारायणगढ सडक खण्डस्थित नवलपरासी पूर्वको विनयी खोलाले बिहीबार राति यात्रुबाहक बस बगाएको छ ।
३८ यात्रु लिएर काठमाडौंबाट बर्दिया आउँदै गरेको भे १ ख ४०८५ नम्बरको बस खोलाको बाढीले डाइर्भसनसँगै बगाएको हो ।
बगाएको बसमा सवार सबै यात्रुको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।
बाढीले बगाएको बस एक किलोमिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी मधु नेपालले जानकारी दिए ।
ओभरलोड सहितको ट्रकले पुल भाचिएपछि विनयी खोलामा डाइभर्सन बनाएर यातायात सञ्चालन भैरहेको छ। तर, पछिल्लो समय वर्षा शुरू भएसँगै दैनिकजसो बाढीले डाइभर्सन बगाउने गरेको छ ।
बाढीले बससँगै डाइभर्सन पनि बगाएपछि नारायणगढ–बुटवल सडकखण्ड फेरि बन्द भएको छ । हिजो बेलुकी एकतर्फी खुलेको सडक रातिदेखि दुईतर्फी नै बन्द भएको इलाका प्रहरी कार्यालय दुम्बीबासका प्रहरी निरीक्षक राजन तिमिल्सेनाले जानकारी दिए ।
दाउन्ने र दुम्कीबास क्षेत्रमा पानी पर्नेवित्तिकै सडक हिलो र चिप्लो भएर जाम र दुर्घटनाको जोखिम हुने गरेको छ । प्रहरीले भने वैकल्पिक रुट प्रयोग गर्न आग्रह गर्दै आएको छ ।
पूर्वबाट पश्चिम जाने गाडी नारायणगढ–मुग्लिन–पोखरा–स्याङ्जा–बुटवल हुँदै र काठमाडौंबाट पश्चिम जाने गाडी मुग्लिन–पोखरा–स्याङ्जा–बुटवल हुँदै जान प्रहरीको आग्रह छ ।
पश्चिमबाट पूर्व जाने गाडीले बुटवल–स्याङ्जा–पोखरा–मुग्लिन तथा साना गाडीले अवस्था बुझेर कालीगण्डकी करिडोर अन्तर्गत गैँडाकोट–पिपलडाँडा सडकको विकल्प प्रयोग गर्न सक्ने प्रहरीको भनाइ छ ।