काठमाडौँ जेठ ३१ –
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी विद्यालयहरूको हकमा कम्पनी र गुठी दुवैमा लैजान सकिने गरी प्रस्ताव गरेको छ । शिक्षामन्त्री रघुजी पन्त र नेपाल शिक्षक महासंघसँग भएको सहमति अनुसार निजी विद्यालयको हकमा गुठी र कम्पनी दुवैमार्फत चलाउन दिनेगरि प्रस्ताव गरेको हो।
विद्यालय शिक्षा विधेयकमा उपसमितिले तयार पारेको प्रतिवेदनमा मन्त्रालयले आफ्नो धारणा तय गरेको हो। आजको शिक्षा समिति बैठकमा शिक्षामन्त्री रघुजी पन्तले निजी विद्यालयहरूको हकमा दुई विकल्प अघि सारिएको बताए ।
कम्पनीमा जानेलाई कम्पनीमा जान दिने, गुठीमा जानेलाई गुठीमा जान दिने भनेर प्रस्ताव गरिएको मन्त्री पन्तले बताए। निश्चित अवधि दिएर गुठीमा पठाउने हो भने त्यो बिचमा उनीहरूको सिन्डिकेट हुने र नयाँ आउन नपाउँदा मोनोपोली कायमै रहने मन्त्री पन्तले बताए ।
‘हामीलाई लाग्यो भने यो प्राइभेटहरूलाई कडाइका साथ सरकारले रेगुलेट गर्नुपर्यो। विभिन्न नियम कडा बनाएर त्यो रुल–नियम भित्र उनीहरूलाई ल्याउनुपर्यो। गुठीमा जानेहरूलाई ट्याक्स छुटदेखि लिएर अरू सुविधाहरू पनि दिएर उनीहरूलाई गुठीमा जान प्रेरित गर्ने वातावरण बनाउनुपर्यो,’ मन्त्री पन्तले भने।







