काठमाडौं, ३० जेठ –
नवलपुरको देवचुली नगरपालिका-३ आम्बासमा ९० वर्षीय जेष्ठ नागरिकले आफ्नी ७६ वर्षीया श्रीमतीलाई रड प्रहार गरी हत्या गरेका छन् । स्थानीयका अनुसार ९० वर्षीय दिलबहादुर थापाले गएराति आफ्नी श्रीमती ७६ वर्षीया जमुना थापालाई टाउकोमा रड प्रहार गरी हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले घटना भएको पुष्टि गर्दै थापाले श्रीमतीको हत्या गरेको स्वीकार गरेको बताए । उनले घटनाको अनुसन्धान भईरहेकोले बताए ।
श्रीमतीलाई रड प्रहार गरी हत्या गरेका थापा प्रहरी नियन्त्रणमा छन् । प्रहरी उपरीक्षक ढकालले भने – ‘म आफै घटना स्थलतर्फ जाँदै छु । आरोपित हाम्रो नियन्त्रणमा छ । उनले घटना स्वीकार गरेका छन् । अनुसन्धान भईरहेको छ ।’ जमुनाको घटनास्थलमै मृत्यु भएको छ । मृतकका छोरा चित्रबहादुर थापाले घटनाको बारेमा प्रहरीलाई जानकारी गराएका थिए ।







