काठमाडौं, २० जेठ
त्रिभुवन विश्वविद्यालय अन्तर्गत सामाजिक कार्य केन्द्रीय विभाग ११ औँ ब्याच प्रथम सेमेस्टरका विद्यार्थीहरूले स्थलगत अध्ययन अनुगमन सुरु गरेका छन् । विश्वविद्यालयको सामाजिक कार्य केन्द्रीय विभागको आयोजनामा जेठ १६ गतेदेखि विध्यार्थीहरुले अध्ययन अनुगमन सुरु गरेका हुन। स्थलगत अनुगमनमा उनीहरूले सामाजिक कार्यको पाठ्यक्रम बमोजिम पाल्पाको रामपुरमा विभिन्न क्षेत्रमा स्थलगत भ्रमण गरिरहेका छन् ।
विद्यार्थीहरूले स्थानीय जनजीवन, सामाजिक–आर्थिक अवस्था, लैङ्गिक समानता, सांस्कृतिक अभ्यास, राजनीतिक संरचना तथा सरकारी सेवा प्रणालीका विभिन्न पक्षमा प्रत्यक्ष अध्ययन तथा अनुसन्धान गर्दै छन् । अनुसन्धानको क्रममा उनीहरूले विभिन्न सामाजिक सचेतनामूलक कार्यक्रमहरू समेत सञ्चालन गरेको अनुसन्धानकर्ता उमेश न्यौपानेले जानकारी दिए ।
पछिल्लो समय नेपालमा सामाजिक कार्य विषयप्रति विद्यार्थीहरूको आकर्षण तीव्र गतिमा बढ्दो रहेको सामाजिक कार्य विभागका विभागीय प्रमुख अभियान केसीले जानकारी दिए । उनका अनुसार त्रिभुवन विश्वविद्यालयले मात्र यो विषय स्नातकोत्तर तहमा अध्यापन गराउँदै आएको छ ।
विद्यार्थीहरूले लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये पाल्पा जिल्ला रोजेका थिए । विद्यार्थीहरूको माग अनुसार पाल्पा जिल्लालाई छनोट गरी स्थलगत अनुगमनलाई प्रभावकारी बनाइएको कार्यक्रमका सुपरभाइजर सरोज गिरी र सामाजिक कार्य विभागका सदस्य चूडामणि बरालले जानकारी दिए । विद्यार्थीहरूले यस क्रममा समुदायमा प्रत्यक्ष सहभागिता जनाउँदै विद्यालय स्तरीय मूल्याङ्कन, प्रस्तुतीकरण तथा सचेतनामूलक क्रियाकलापहरू सञ्चालन गरेका हुन् ।
सामाजिक कार्यकर्ताहरूले यस अभियानमार्फत सामाजिक रूपान्तरण, समावेशी विकास, र अधिकार प्रवर्धनका पक्षमा समुदायमा सकारात्मक सन्देश प्रवाह भएको विश्वास व्यक्त गरेका छन् । उनीहरूले पाल्पा जिल्लाले सामाजिक कार्यको अभ्यासका लागि सशक्त आधार प्रदान गरेको जनाएका छन्। स्थलगत भ्रमण तथा अवलोकन आगामी जेठ २६ गतेसम्म जारी रहनेछ ।







