काठमाडाैं जेठ १७,
मनसुन भित्रिएसँगै कोशी प्रदेशका केही ठाउँमा ठूलो पानी परेको छ । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहितको हल्कादेखि मध्यम पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोशीका केही स्थान, मधेशलगायत देशको पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
कोशीको एक–दुई स्थानमा धेरै वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।
आज राति कोशी र मधेशका केही स्थान तथा बाँकी पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी र मधेशका एक–दुई स्थानमा धेरै वर्षाको समेत सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।
यसपालिको मनसुन दुई हप्ता छिटो कोशी प्रदेशबाट नेपाल भित्रिएको छ । नेपालमा सरदर मितिभन्दा १५ दिन छिटो मनसुन प्रवेश गरेको हो । कोशीका सबै ठाउँमा मनसुनी प्रभाव परिसकेको र अरू ठाउँमा पनि विस्तारै सर्ने क्रममा रहेको महाशाखाले जनाएको छ । यसपालिको मनसुनमा पहिलेको भन्दा धेरै पानी पर्ने मौसमविदले यसअघि नै बताइसकेका छन् ।
मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ रहे पनि मे २९ मा नै नेपालमा मनसुन भित्रिएको जानकारी दिए । ‘नेपालका अन्य भू–आगहरूमा मनसुनको प्रभाव विस्तार हुन अझै केही समयमा लाग्ने देखिन्छ । हाल देशको बाँकी भू–आगमा भने पश्चिमी वायु र स्थानीय वायुको प्रभाव यथावत् देखिन्छ,’ उनले भने ।
हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ।







