भरतपुर जेठ १६
स्टार्स मन्टेश्वरी एकेडेमीले विविध कार्यक्रम गरी बिहीबार १५औँ वार्षिकोत्सव मनाएको छ ।
हाकिमचोकस्थित सिएमटी रिसोर्टमा भएको वार्षिकोत्सवमा वरिष्ठ कलाकार गौरी मल्लको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै मल्लले अभिभावक र शिक्षकहरु बालबालिकाको नजिकको साथी हुने बताइन् ।
शिक्षणमा आफ्नो पनि एक वर्षको अनुभव रहेको बताउँदै उनले मन्टेश्वरीको सफलताको शुभकामना व्यक्त गरिन् ।
कार्यक्रममा नारायणी नमुना उच्च माध्यमिक विद्यालयका अध्यक्ष टेकबहादुर थापालाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’द्वारा सम्मान पनि गरिएको थियो । सामुदायिक विद्यालयका अग्रज थापालाई सम्मान गरेकोमा मल्लले मन्टेश्वरीको प्रशंसा पनि गरिन् ।
मन्टेश्वरी १६औँ वर्षमा प्रवेश गरेको अवसरमा केक काटेर खुसीयाली साटासाट गरिएको थियो भने मन्टेश्वरीलाई विभिन्न तहबाट सहयोग गर्ने व्यक्ति र संघसंस्थाका प्रतिनिधिहरुलाई सम्मान गरिएको थियो । वार्षिकोत्सव कार्यक्रममा विद्यालयमा कार्यरत शिक्षकहरुले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।
स्टार्स मन्टेश्वरी एकेडेमी २०६५ साल जेठ १५ गते पोखरामा र २०६७ साल जेठ १५ गते भरतपुर मालपोत चोकमा शाखा स्थापना भएको थियो ।
एकेडेमीले १५ वर्षको अवधिमा चितवनमा बेग्लै पहिचान बनाउँदै अभिभावकको पहिलो रोजाइ बन्न सफल रहेको छ । यो संस्था आफ्नो उत्कृष्ट शिक्षण सिकाइका साथसाथै विभिन्न फरक क्रियाकलापहरु गर्ने मन्टेश्वरीमध्ये एक मानिन्छ ।