काठमाडौँ जेठ ७
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि आज पनि सुनुवाइ हुँदै छ ।
मङ्गलवार सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा बन्दीप्रत्यक्षीकरण निवेदनसँगै लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको तर्फबाट नारायणबहादुर पहराईसहित ४४ जनाविरुद्ध दायर दुई वटा रिटमाथि सुनुवाइ सुरु भएको थियो ।
न्यायाधीशद्वयले मङ्गलवार नै सक्नेगरी बहस छोट्टाउन आग्रह गरेका थिए । तर बहस नसकिएपछि उक्त निवेदन र रिट हेर्दाहेर्दैमा राखिएको थियो । मङ्गलवार लामिछानेको तर्फबाट सुदीज्ञ पन्त, सुशील पन्त, सुरेन्द्र थापा, दीपेन्द्र झा, नारायणदत्त कँडेल, विवेक राउतलगायतले बहस गरेका थिए ।
आज लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले बहस गरेपछि पूर्वडीआईजी जोशीका कानुन व्यवसायी, त्यसपछि पीडित र सरकारी वकिलले बहस गर्नेछन् ।
सुनुवाइ सकिएमा लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन तथा उनी र पूर्वडीआईजी जोशीका तर्फबाट दायर रिटमाथि सम्भवतः आजै आदेश आउनेछ ।