काठमाडौँ, ३१ वैशाख –
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले छोराछोरीहरूलाई मुलुकमै सपना देखाउन नसके राजनीति गरेको अर्थ नहुने बताएका छन् ।
बुधवार काठमाडौँमा आयोजित सङ्घीयताको कसीमा आर्थिक वर्ष २०८२—०८३ को बजेट छलफल कार्यक्रममा बोल्दै उनले युवाहरूलाई स्वदेशमा टिकाउन गाह्रो भएको बताए । आफ्नै छोराछोरीलाई सपना देखाउन नसके राजनीति गरेको र मन्त्री भएको औचित्य नहुने उनको जिकिर छ ।
नेपाललाई साँच्चिकै माया गर्ने, स्वाधीनताको रक्षा गर्ने र सबैको साझा देश बनाउने हो भने यसको औचित्य, महत्त्व र गरीमा बुझाउनुपर्ने धारणा उनले राखे । उनले नेपाल भन्दा कमजोर देशहरूले विकास र प्रगति गरेको बताउँदै नेपाल पनि सबल बन्न सक्ने विश्वास व्यक्त गरे ।
युवाहरूलाई स्वदेशमै सपना देखाएर त्यसलाई बिपनामा परिणत गर्ने सङ्कल्प गर्नुपर्ने उनको जिकिर छ । उनले सङ्घीयता लोकतन्त्रको अभिन्न अङ्ग रहेको बताउँदै सङ्घीयता जति बलियो बन्यो, लोकतन्त्र पनि त्यति नै बलियो बन्दै देश समृद्ध बन्ने बताए ।