काठमाडाैं बैशाख २९,
प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र पाकिस्तानबीचको युद्धको पक्षमा आफूहरू नरहेको बताएका छन् ।
बुद्ध जयन्तीका अवसरमा सोमबार लुम्बिनीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालका छिमेकी देश भारत र पाकिस्तानबीच केही दिन अगाडि अलिकति हात हालाहाल भएको उल्लेख गरे । तर, यो अवस्था लडाइँमा जानुहुन्न भनेर नेपालले आग्रह गरेको ओलीले स्मरण गरे ।
‘झण्डैझण्डै केही दिन अगाडि मात्रै हाम्रै छिमेक भारत र पाकिस्तानको अलिकति हात हालाहाल भएको थियो तर बढ्न पाएन । संयमका लागि धन्यवाद छ । हामीले सुरुदेखि भन्यौं, विस्तार हुन नपाओस् । यो हात हालाहालको स्थिति लडाइँमा परिणत हुन नपाओस् भन्ने हामीले कामना गर्यौं, उहाँहरूसँग पनि कुरा गर्यौं’, प्रधानमन्त्री ओलीले भने, ‘नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । फेरि पनि केही केही आरोप प्रत्यारोपको स्थिति छ ।’
प्रधानमन्त्री ओलीले बुद्धका शान्तिको सन्देशहरूको अर्थ अहिले पनि रहेको बताए । ‘जहाँ पनि छ,व्यक्तिलाई छ, व्यक्तिको आफ्नो मनस्थितिको शान्तिका लागि छ, परिवारको शान्तिका लागि छ र सबै कुराका लागि शान्तिको महत्त्व छ’, उनले भने, ‘आज जति बेला मासड्रिस्टक्सनका हतियारहरूको निर्माण र त्यो थुप्रो लगाउने काम भइरहेको छ । यो मानव अस्तित्व र धर्तीको अस्तित्वका लागि बहुत खतरनाक चिज हो । यसकारण यस खतरनाक चिजबाट उन्मुक्तिका लागि हामी फेरि पनि विश्व शान्तिको पक्षमा रहनु पर्दछ र काम गर्नु पर्दछ ।’