काठमाडौँ, ८ वैशाखः
नेपालले निर्यात गर्ने वस्तुहरुमा सबैभन्दा ठूलो हिस्सा भटमास तेलको देखिएको छ । नेपालको आफ्नै उत्पादन नभई विदेशबाट अर्धप्रशोधित भटमास तेल (क्रुड सोयाबिन आयल) आयात गरेर प्रशोधित तेलका रुपमा निर्यात हुने गरेको हो ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्मको नौ महिनामा नेपालले कुल रू एक खर्ब ८८ अर्ब १९ करोड ५० लाख ७० हजार बराबरको सामान निर्यात गरेको छ । यो अवधिमा भटमासको तेल मात्रै रू ६२ अर्ब ७८ करोड २३ लाख ३० हजार बराबरको निर्यात भएको छ । अर्थात् नेपालले गर्ने कुल निर्यात रकमको एक तिहाई भटमास तेलको निर्यातबाट आइरहेको छ ।
त्यस्तै, अहिले नेपालले बढी निर्यात गरेका वस्तुको दोस्रो स्थानमा सूर्यमुखी तेल छ । नौ महिनामा रू नौ अर्ब २३ करोड २७ लाख ६० हजार बराबरको सूर्यमुखी तेल निर्यात भएको छ । यसमा पनि अर्धप्रशोधित सुर्यमुखी तेल आयात गरेर त्यसलाई प्रशोधन गरी भारत निर्यात गर्छ ।