काठमाडौँ ३ वैशाख :
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले शिक्षासम्बन्धी समस्याहरूको सम्बोधन गर्न ‘फास्ट ट्र्याक’ मार्फत विद्यालय शिक्षा विधेयक ल्याइने बताउनुभएको छ । मन्त्रालयमा आज वैशाख ३ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री गुरुङले शिक्षा क्षेत्रको व्यवस्थापनका लागि विधेयक ल्याउनु अनिर्वाय रहेको बताउनुभयो ।
नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले शिक्षकको समस्याप्रति सरकार संवेदनशील रहेको बताउँदै ‘फास्ट ट्र्याक’ अपनाएर विधेयक पास गर्ने सरकारको तयारी रहेको जानकारी दिनुभयो । “शिक्षा क्षेत्रमा थुप्रै समस्या छन्, त्यसको व्यवस्थापन गर्न ‘फास्ट ट्र्याक’ मार्फत विधेयक पास गर्ने तयारीमा छौँ”, मन्त्री गुरुङले भन्नुभयो ।
मन्त्री गुरुङका अनुसार वैशाख २ गते बसेको मन्त्रिपरिषद्को निर्णयले नेपाल शिक्षक महासङ्घले उठाएका मागप्रति नेपाल सरकार संवेदनशील रहेको र मागहरूको यथोचित सम्बोधन गर्ने सम्बन्धमा संवादलाई निरन्तरता दिने एवं सङ्घीय संसद्मा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक पारित गर्ने प्रयोजनका लागि सङ्घीय संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
मन्त्री गुरुङका अनुसार सरकारले आन्दोलनरत शिक्षकलाई आ–आफ्नो काममा फर्कन आह्वान गरेको छ । विधेयक छिटो पारित गर्न सरकारको तर्फबाट आवश्यक समन्वय र सहजीकरण गर्ने विश्वास दिलाइएको उहाँले जानकारी दिनुभयो ।