चितवन, चैत्र २७ –
कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) चितवन, निरन्तर शिक्षा केन्द्रको आयोजनामा एन्टिमाइक्रोबियल प्रतिरोध (एएमआर) र वन हेल्थ प्रवद्र्धन विषयक दुई दिने तालिम सुरु भएको छ ।
विश्वविद्यालयको सभाहलमा आजबाट तालिम सुरु भएको निरन्तर शिक्षा केन्द्रका निर्देशक तथा तालिम संयोजक प्राडा ओम प्रकाश सिंहले जानकारी दिए ।
एडिबी, जेनेक्स फाउण्डेशन र सथगुरुको सहयोगमा संचालित तालिमलाई विश्वविद्यालयकी उपकुलपति प्राडा शारदा थपलियाले उद्घाटन गरिन् । प्राडा थपलियाले एन्टिबायोटिकको दुरुपयोग, त्यसले सिर्जना गर्ने प्रतिरोध र वन हेल्थ अवधारणाको महत्वमाथि प्रकाश पारिन् ।
पशु विज्ञान संकायका डिन प्राडा भूमिनन्द देवकोटाज्यूले पशुपालन व्यवसायमा देखिने व्यवहारिक चुनौतीहरुबारे चर्चा गरे । अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक प्राडा निराजन भट्टराईले तालिमले किसानस्तरसम्म ज्ञान पुर्याउने विश्वास व्यक्त गरे ।
तालिममा ५० जना पशुपालक किसानहरुको सहभागिता रहेको छ । सहभागिहरुलाई पशु स्वास्थ्य, औषधिको सुरक्षित प्रयोग, सरसफाइ, रोग नियन्त्रण र वन हेल्थ अवधारणाबारे व्यवहारिक तालिम दिन सुरु गरिएको हो । तालिम भोलिसम्म चल्ने छ ।