इनरुवा(सुनसरी), ११ चैत :
माध्यमिक शिक्षा परीक्षा (एसइई) मा चिट चोराउन मोबाइलको प्रयोग भएको पाइएको छ । यस वर्षको एसइई परीक्षामा चिट चोराउन मोबाइलमार्फत ‘ह्वाट्सएप’ प्रयोग भएको पुष्टि भएको हो ।
सुनसरी सदरमुकाम इनरुवा–९ स्थित सरस्वती मावि परीक्षा केन्द्रमा गणित विषयको एसइई परीक्षा चलिरहँदा ‘ह्वाट्सएप’ मार्फत चिट चोर्न सहयोग गर्ने गार्ड रङ्गेहात पक्राउ परेका छन् ।
परीक्षा केन्द्रबाट ‘ह्वाट्सएप’ को प्रयोग गरी चिट चोराउने कार्यमा संलग्न दुई जना गार्डलाई पक्राउ गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो । परीक्षा केन्द्र अनुगमनमा पुगेको प्रजिअसहितको टोलीलाई देखेर परीक्षा गार्ड(शिक्षक)ले मोबाइल अफ गरेका थिए ।
उनीहरूको मोबाइल जाँच गर्दा परीक्षा केन्द्रमा खटाइएका प्रावि शिक्षकको साथमा रहेको मोबाइलबाट चिट चोर्न र चोराउन ह्वाट्सएप मार्फत च्याट गरिएको भेटिएको थियो ।
ह्वाटस्एपमा कुराकानी गर्दै विद्यार्थीको नाम, सिम्बल नम्बर र बोर्डिङ स्कुलको नामसहित विद्यार्थी सङ्ख्या के कति भन्नेबारे च्याट गरिएको पाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी मिश्रले बताउनुभयो । पक्राउ परेका शिक्षक श्रवणकुमार चौधरी र रमानन्द मेहतालाई परीक्षा गार्डबाट निष्कासन गरेको उहाँले बताउनुभयो ।
त्यसैगरी अनुगमनका क्रममा इनरुवा–१ स्थित भगवती मावि परीक्षा केन्द्रबाट तीन जना निरीक्षकलाई नियन्त्रणमा लिएको प्रजिअ मिश्रले बताउनुभयो । भगवती मावि परीक्षा केन्द्रबाट इनरुवा–५ का मुकेन्द्र यादव, रमानन्द यादव र दिनेशप्रसाद यादवलाई नियन्त्रणमा लिइएको सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिनुभयो ।







