काभ्रेपलाञ्चोक, ५ चैत :
काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्र बेथानचोक गाउँपालिका–३ बोल्देस्थित गोरखनाथ सामुदायिक वनमा आइतबार रातिदेखि लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । आइतबार राति ११ बजेदेखि उक्त वनमा लागेको डढेलो नियन्त्रणका लागि सोमबार बिहानैदेखि प्रयास भइरहे पनि डढेलो नियन्त्रण बाहिर रहेको हो ।
गोरखनाथ वनको डढेलो फैलँदै आज बिहान चिसापानी सामुदायिक वनसम्म पुगेको छ । उक्त गाउँपालिका ३ र ५ नं वडाको सिमानामा रहेको पर्यटकीय क्षेत्र गजराम पर्वतसमेत डढेलोको जोखिममा परेको जनाइएको छ ।
सोमबारदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधिलगायत वन उपभोक्ता समितिका पदाधिकारी तथा स्थानीयको सक्रियतामा डढेलो नियन्त्रणको प्रयास गरेपनि डढेलो फैलँदै गएको हो । आज बिहानैदेखि बेथानचोक प्रहरी चौकीको प्रहरी टोली स्थानीयसँग मिलेर डढेलो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
सोमबार नेपाली सेनी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले हुर्का भञ्ज्याङको मानवबस्तीलाई डढेलोबाट जोगाउन एन्टिफायरिङ गराएर फर्किएको थियो । एन्टी फायरिङ गरिए पनि बस्ती पूर्ण रूपमा सुरक्षित नरहेको गाउँपालिका वडा नं ३ का वडाध्यक्ष कुबेर ढकालले बताउनुभयो ।
उहाँका अनुसार हावाहुरी व्यापक रूपमा लागि रहेकाले त्यसलाई पूर्ण नियन्त्रणमा लिन भने सकिएको छैन । स्थानीयलाई सचेत रहन र सावधानी अपनाएर बस्न आग्रह गरिएको छ ।