काठमाडौँ, १ चैत :
काठमाडौँ महानगरपालिकाले अटिजम, बौद्धिक अपाङ्गता, डाउन सिन्ड्रोमलगायत अवस्था भएका विशेष प्रकृतिका विद्यार्थीलाई आधारभूत तह परीक्षामा विशेष सहुलियतसहित सहभागी गराउने भएको छ ।
आज आधारभूत तह उत्तीर्ण परीक्षा समितिका अध्यक्ष एवं निमित्त शिक्षा अधिकारी केशव ज्ञवालीको संयोजकत्वमा बसेको बैठकले यस्ता विद्यार्थी अध्ययनरत विद्यालयमा नै परीक्षा केन्द्र रहनेगरी परीक्षाको प्रबन्ध मिलाउनेसहितका सहुलियतसम्बन्धी निर्णय गरेको हो ।
विभागका अनुसार अहिलेसम्म छवटा विद्यालयका छ जना विद्यार्थीलाई यस प्रकारको सहुलियत दिनुपर्ने देखिएको छ ।
समितिले फागुन २२ गते विवरण पठाउन गरेको पत्राचारबाट यो सङ्ख्या प्राप्त भएको कामपाको भनाइ छ । शिक्षा नियमावली, २०५९ को नियम ४७ बमोजिम दृष्टिविहीन, बहिरा, सुस्त श्रवण, मनोसामाजिक अपाङ्गता भएका विद्यार्थीका लागि निजले बुझ्ने साङ्केतिक भाषामा परीक्षा दिने व्यवस्था मिलाइनेछ ।
यस्ता विद्यार्थीले निर्धारित समयभित्र परीक्षा दिन नसक्ने देखिएमा केन्द्राध्यक्षले वा सम्बन्धित विद्यालयले बढीमा एक घण्टा ३० मिनेटसम्म थप समय उपलब्ध गराउन सक्नेछन् ।







