काठमाडाैं चैत १,
काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत एवं सहसचिव सरोज गुरागाईंलाई हाजिर गर्न नदिने र सरकारले गुरागाईंलाई नै पठाउने अडान कायम रहेका कारण कामपाको आर्थिक गतिविधि ठप्प छ ।
श्रम बैंकमार्फत जागिर खाएका र स्थानीय भाषा (नेपाल भाषा) शिक्षकले तलब नपाएको ५ महिना पुगेको छ । विद्यालयका शिक्षकले ४ महिनादेखि तलब पाएका छैनन् भने अन्य कर्मचारीले २ महिनादेखि तलब पाएका छैनन् । करिब १ अर्ब बढी ठेकेदारलाई भुक्तानी दिन बाँकी छ । बिलको चाङ थुप्रिएको छ । रकम नभएपछि जटिल समस्या देखिएको छ ।
कामपा वित्त विभाग प्रमुख शिवराज अधिकारीले अघिल्लो वर्षको भुक्तानी दिन नसक्दा समस्या भएको बताउनुभयो । वित्त विभागमा हरेक विभागबाट भुक्तानीका लागि ताकेता आउने गरेको छ । कतिपय विभागले त प्रमुख प्रशासकीय अधिकृत नियुक्ति हुनासाथ भुक्तानी दिने भन्दै सम्झाईबुझाई गर्न थालेका छन् ।
देशको सबैभन्दा ठूलो स्थानीय तहमा मेयर र सरकारबीचको टकरावले बजेट खर्च हुन सकेको छैन । बजेट अभावका कारण विकास निर्माण कार्यमा समस्या परेको छ ।नेपाल समाचारपत्रमा खबर छ ।