चितवन फागुन २४
भरतपुर महानगरपालिकाको सहरी सौन्दर्यसँग जोडिएको पूर्वपश्चिम महेन्द्र राजमार्गको नारायणगढ पुलचोकदेखि टिकौली जंगल छेउको गोन्द्राङसम्म ६ किमी सडकलाई ६ लेन बनाउने काम सकिएपछि चिटिक्क देखिएको छ ।
२०७७ साल भदौमा सुरु भएको सडक विस्तारको काम ३ पटकसम्म म्याद थप गरी सम्पन्न भएसँगै अहिले चिटिक्क बनेको हो । हालै मात्र उक्त सडकमा स्मार्ट सडक बत्तीको पनि शुभारम्भ गरिएको थियो ।
यो सडक विस्तारको लागि लागत १ अर्ब ७६ करोड रुपैयाँ रहेको छ । सडकको दायाँ–बायाँ ११ दशमलव ५ मिटरको एक्सप्रेस लेन रहेको छ । त्यसको बिचमा ३ देखि ४ मिटरको मेडियन छ, जहाँ दुबो र बिरुवा लगाइसकिएको छ ।
एक्सप्रेस लेनको छेउमा दुवैतर्फ ठुला नाली छन् । नालीभन्दा बाहिर दुवैतर्फ ६ मिटरसम्मको सर्भिस लेन रहेको छ । सर्भिस लेनबाहिर दुवैतर्फ ३ देखि ४ मिटरको फुटपाथ रहेको छ ।