६ फागुन, काठमाडौं
भारतको ओडिसा राज्य सरकारले नेपाली छात्राको मृत्यु भएको सम्बन्धमा अनुसन्धान गर्न एक उच्चस्तरीय समिति गठन गरेको छ ।
समितिमा गृह विभागका अतिरिक्त मुख्य सचिव, महिला तथा बाल विकास विभागका प्रमुख सचिव र उच्च शिक्षा विभागका आयुक्त (सह–सचिव) सदस्य रहेका छन् ।
गत आइतबार (फेव्रुअरी १६)मा भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको गर्ल्स होस्टलमा बी.टेक तेस्रो वर्षमा अध्ययनरत २० वर्षीया नेपाली छात्रा प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी थिइन् ।
केआईआईटीको गर्ल्स होस्टेलमा नेपाली छात्रा प्रकृति लम्साल मृत अवस्थामा भेटिएपछि त्यहाँ रहेका नेपाली विद्यार्थीले आन्दोलन गरेका थिए । त्यसपछि विश्वविद्यालयको रजिस्टारको कार्यालयले एक सूचना प्रकाशित गरी नेपाली विद्यार्थीलाई तत्काल क्याम्पस खाली गर्न भनेको थियो ।
सोमबार दिउँसो केआईआईटी विश्वविद्यालयमा अध्ययनरत ५ सयभन्दा बढी नेपाली विद्यार्थीलाई होस्टेलबाट जर्बजस्ती उठाएर विभिन्न रेल स्टेसनमा लगि छोडिएको थियो र उनीहरूलाई त्यहाँबाट आफ्नो घर जान भनिएको थियो ।