काठमाडौं फागुन ६
देशका केही भूभागमा आज हिमपात र वर्षाको सम्भावना छ । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण वर्षा र हिमपातको सम्भावना रहेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ ।
बाँकी पहाडी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । तराईका थोरै भूभागमा हुस्सु र कुहिरो लागेको छ ।
विभागले दिउँसो कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी भूभागमा आंशिक बदली रहनेछ ।
कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले बताएको छ ।
“दिउँसो २/३ बजेपछि काठमाडौंमा वर्षाको सम्भावना छ । दिनभर काठमाडौंमा बदली हुनेछ,” दिनभर बदली हुने भएकाले जुनसुकै बेला काठमाडौंमा हल्का वर्षाको सम्भावना रहेको छ ।
वाग्मती प्रदेशको उत्तरी क्षेत्रमा वर्षाको सम्भावना छ । नुवाकोट र रसुवाको पहाडी भूभागमा वर्षा हुने संभावना छ ।
राति कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागको भनाइ छ ।
कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।







