काठमाडाैं, माघ २७ –
प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी सशस्त्र संघर्ष ‘हिंसा’ भएको दोहोर्याएका छन् । आइतवार सिंहदरवारमा बसेको प्रजातन्त्र दिवस मूल आयोजक समितिको बैठकमा ओलीले माओवादीको संघर्ष जनयुद्ध नभई हिंसा नै भएको दोहोर्याएका हुन् ।
फागुन ७ गतेको प्रजातन्त्र दिवस मुलुकका लागि सबैभन्दा ठुलो परिवर्तन ल्याउने दिन भएको ओलीले बताए । ‘यहाँ हिंसालाई जनयुद्ध दिवस भन्न रुचाउनेहरू छन तर, त्यत्रो परिवर्तनलाई मान्न नरुचाउने तत्वहरू छँदैछन् । प्रजातन्त्र दिवसलाई नमान्ने कुरा लोकतान्त्रिक हुन सक्दैन । यस दिवसलाई भव्यताका साथ मनाउनुपर्छ,’ ओलीले भने ।
यसअघि एमाले सचिव योगेश भट्टराईले माओवादी सशस्त्र संघर्षलाई हिंसा भनेपछि संसद्मा माओवादीले सशक्त प्रतिवाद गरेको थियो । हालैमात्र माओवादी पृष्ठभूमिका एमाले उपाध्यक्ष रामबहादुर थापाले माओवादीको सशस्त्र संघर्ष जनयुद्ध नभएर हिंसा भएको बताएका थिए ।
ओलीले प्रजातन्त्र दिवस औपचारिकताको लागि नभई जनताको दिवस सरह मनाउनु पर्ने बताए । ‘यो (प्रजातन्त्र) दिवसलाई केवल माथिको आदेश–निर्देशका भरमा औपचारिकतामा मात्रै मनाउनु हुँदैन । यसलाई जनताको कार्यक्रम बनाउनेगरी तयारी गर्नुपर्छ,’ ओलीले भने ।