काठमाडौँ, २५ माघ :
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले पार्टी सभापति रवि लामिछानेको सांसद पद फुकुवा गर्न माग गरेका छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै रास्वपाका सांसदहरुले उहाँको सांसद पद फुकुवा गर्न माग गरेका हुन् ।
रास्वपा सांसद डोलप्रसाद अर्यालले सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधेर झुट्टा मुद्दा लगाएर फसाउन खोजिएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “थुनामा नरहेको बेला लामिछानेको सांसद पद तुरुन्त फुकुवा गर्न सभामुखमार्फत आग्रह गर्दछु ।”
रास्वपाकै सांसद बिनिता कठायतले सभापति लामिछानेलाई हिरासतमा राख्दैमा सहकारी पीडितको रकम फिर्ता भयो त ? भन्दै प्रतिप्रश्न गर्नुभयो । सहकारी पीडितको समस्या समाधानमा बेवास्ता गरेको भन्दै उहाँले आपत्ति जनाउनुभयो ।
शून्य समयमा सांसदहरुले आ–आफ्नो क्षेत्रमा देखिएका समस्या उजागर गर्नुभएको थियो । सो क्रममा सांसद ठाकुरप्रसाद गेरैले बुटवल–पाल्पा सडकको बाँकी काम समयमै सम्पन्न हुने गरी काम गर्न सुझाव दिनुभयो ।
सांसद तारा लामा तामाङले उखु किसानले समयमै भुक्तानी पाउनुपर्ने माग गर्नुभयो । कञ्चनपुरमा हात्ती आतङ्कका कारण कृषिमा क्षति पुगेको भन्दै उहाँले किसानलाई उचित क्षतिपूर्तिको माग गर्नुभयो ।
सांसद डा तोसिमा कार्कीले ललितपुरका नागरिकले टिपर आतङ्कका कारण दुःख पाइरहेको गुनासो गर्नुभयो । नख्खु–भैँसीपाटी सडकमा ट्याक्टर आतङ्कले दुर्घटना बढेकाले बस्ती भएको क्षेत्रमा ट्याक्टर चलाउन निषेध गर्नुपर्ने बताउनुभयो ।