काठमाडौँ, माघ १९-
बिहारको मुजफ्फरपुरमा नेपाली चढेको स्कार्पियो गाडी दुर्घटना हुँदा पाँच नेपाली दर्शनार्थीको मृत्यु भएको छ ।
महाकुम्भ मेलाबाट फर्किंदै गरेको स्कोर्पियो गाडी अनियन्त्रित भएर पल्टिँदा पाँचजनाको घटनास्थलमै मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
उक्त गाडीमा नौजना सवार थिए । महिला–पुरुष गरी घटनास्थलमा पाँचजनाको मृत्यु भएको हो । गाडीमा सवार बालबालिकासहित चारजना गम्भीर घाइते रहेका र उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
उक्त गाडी कसैलाई बचाउने क्रममा अनियन्त्रित भएर सडकमा पल्टिएको प्रहरीको अनुमान छ । घाइतेले आफूहरू सबै नेपालको महोत्तरी जिल्लाको भएको बताएको प्रहरीका तर्फबाट सञ्चारमाध्यमलाई जानकारी गराइएको छ ।