काठमाडौं, माघ १७ –
प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने निर्णय गरेका छन् ।
बिहीबार बिहान सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले सरकारले गलत नियत राखेर अध्यादेश ल्याएको भन्दै अस्वीकार गर्ने निर्णय गरेको नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
शुक्रबारदेखि सुरू हुने संसदको हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न विपक्षी दलहरूको बैठक बोलाइएको हो।
‘सरकारले सदन बोलाउने बेलामा नै जसरी अध्यादेश ल्याएको छ, प्रक्रियाका हिसाबले पनि गलत छ र संसद्को अर्थ समितिमै छलफल भएको विधेयकलाई पनि मिनिमाइज गरेर अध्यादेश ल्याएको छ,’ माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले भने,‘यसमा सबै विपक्षी दलहरूले गलत भयो भन्ने निष्कर्ष निकालियो र अस्वीकार गर्ने निर्णय भयो ।’
बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, प्रभु साह नेतृत्वको आम जनता पार्टी सहभागी थिए ।