काठमाडौं, माघ १५ –
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ सालको मंसिरमा मात्र वर्तमान सत्ता गठबन्धन परिवर्तन हुने दाबी गरेका छन् । आज बसेको पार्टीको संसदीय दलको बैठकमा ओलीले दिनहुँ सरकार ढल्छ भनेर हल्ला फैलाईएको तर, सरकार ०८४ सालसम्म टिक्ने दाबी गरेका हुन् ।
उनले अहिले दिनैपिच्छे सरकार ढल्ने हल्ला चलाइरहेको भन्दै त्यसतर्फ ध्यान नदिन र भ्रममा नपर्न सांसदहरूलाई आग्रह गरे ।
‘दिनैपिच्छे सरकार ढल्छ भन्ने हल्ला छ । अलिक भरेसम्म सरकार ढल्छ । साँझसम्म त सरकार ढल्छ, ढल्छ । राति नै ढल्छ अथवा भोलि बिहानै सरकार ढल्छ । ढलेन भने दिउँसोसम्म सरकार ढल्छ । भोलि ढलेन भने पर्सिलाई सारिदिने । पर्सि भएन भने अर्को हप्तालाई सारिदिने,’ प्रधानमन्त्री ओलीले भने, ‘यो महिना ढलेन भने अर्को महिनलाई सार्ने । साउनमा सरेन भने भदौमा सार्ने । भदौमा पनि ढलेन भने दशैंलाई सार्ने । दशैंमा पनि ढलेन भने मंसिरमा सार्ने । कुन मंसिरमा ? ०८४ मंसिरमा सरकार ढल्छ । के परिणाम आउँछ त्यस अनुसार सरकार ढल्छ । तर, मान्छे धेरैले अस्तिको मंसिरमा भन्ने बुझे । ०८४ को मंसिरभन्दा यता सरकारमाथि लगाउने आरोप मात्रै हो ।’