चितवन, ७ माघ-
चितवनस्थित भरतपुर महानगरपालिकाले व्यवस्थापनको जिम्मेवारी लिइ सर्वसाधारणका लागि खुल्ला गरिएको दियालो बङ्गला अवलोकन गर्नेको सङ्ख्या ४४ हजार आठ सय ८१ पुगेको छ ।
गत असार २५ गतेदेखि सर्वसाधारणका लागि खुल्ला गरिएको दियालो बङ्गला गत पुस मसान्तसम्ममा एक सय ३८ जना विदेशी पर्यटकले अवलोकन गरेका छन् ।
भरतपुर भ्रमण वर्ष २०२४ का अवसरमा खुल्ला गरिएको बङ्गला अवलोकन गर्न आएकाहरुबाट रु ३८ लाख ३७ हजार नौ सय ५० राजस्व सङ्कलन भएको महानगरपालिकाको पर्यटन शाखा प्रमुख रामबाबु पौडेलले जानकारी दिनुभयो । सर्वसाधारणलाई प्रवेश शुल्क रु एक सय, ज्येष्ठ नागरिक र विद्यार्थीलाई ५० प्रतिशत छुट गरिएको छ ।
यसैगरी, छिमेकी राष्ट्रहरु भारत र चीनका पर्यटकहरुका लागि रु एक सय ५०, ती बाहेकका सार्क राष्ट्रका पर्यटकका लागि रु दुई सय र अन्य मुलुकका पर्यटकका लागि रु तीन सय शुल्क तय गरिएको छ । दैनिक घुम्न आउनेको सङ्ख्या बढ्दै गएको उहाँले बताउनुभयो ।
महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले दियालो बङ्गला चितवनको एउटा पर्यटकीय गन्तव्यका रुपमा थपिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सदरमुकामबाट नजिक रहेको यस क्षेत्र लामो समय पछि सर्वसाधारणका लागि खुल्ला हुँदा एउटा गन्तव्यका रुपमा थपिएको छ ।” उक्त बङ्गला भरतपुर महानगरपालिका–१ मा छ । नेपाल ट्रष्टसँग सम्झौता गरेर व्यवस्थापनको जिम्मेवारी महानगरले लिएको हो ।
सङ्कलित राजस्व रकमको ६० प्रतिशत ट्रष्ट र ४० प्रतिशत महानगरले पाउनेगरी व्यवस्थापन गरिएको हो । महानगरप्रमुख रेनु दाहालले बङ्गलाको ऐतिहासिक महत्व भएकाले यहाँ घुम्न रुचाउनेहरुको सङ्ख्या दिनानुदिन बढ्दै गएको बताउनुभयो ।