काठमाडौँ, पौष २९-
“स्वस्थ जीवन र पर्यावरणका लागि कृषि जैविक विविधता” भन्ने नाराको साथ तेश्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाउने कृषि विभागले जनाएको छ ।
सोमवार कृषि विभाग परिसर हरिहरभवनमा आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक प्रकास कुमार संजेलले माघ पहिलो हप्ताभर विविध कार्यक्रमहरु आयोजना गरि कृषि जैविक विविधता दिवस मनाउने कार्यक्रम तय भएको बताउनुभयो ।
कृषि जैविक विविधताको संरक्षण र दिगो उपयोग गर्ने उद्देश्यले २०७९ सालबाट माघको पहिलो हप्तालाई कृषि जैविक विविधता सप्ताहकै रुपमा मनाउन शुरुआत गरिएको कृषि विभाग अन्तर्गतको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका निमित्त प्रमुख केशव देवकोटाले बताउनुभयो।
दिवसले नेपालमा परम्परागत रुपमा रहेका अनेकौँ जातजाती तथा धार्मिक एवं सांस्कृतिक परम्पराहरुसँग सम्बन्धित कृषि र खानाका परिकार तथा संबद्ध सिपको जगेर्ना गर्नमा मद्दत पुर्याउने कृषि विभाग अन्तर्गतको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका वरिष्ठ माटो विज्ञ बलराम रिजालले बताउनुभयो ।
दिवसका अवसरमा माघ १ देखी माघ ७ गतेसम्म विभिन्न कार्यक्रमहरु विभाग मातहतका कार्यालय स्थानीय तह तथा गैर सरकारी संस्थाहरु र निजी क्षेत्रमार्फत अन्तर्क्रिया, रैथाने कृषि उपज प्रदर्शनी लगायतका कार्यक्रमहरु संचालन हुनेछन् ।
माघ २ र ३ गते रैथाने राष्ट्रिय कृषि जैविक विविधता दिवस मूल समारोह सँगै कृषि जैविक विविधता एवं रैथाने कृषि उपज प्रदर्शनी तथा विक्रि बितरण, कृषक सम्मान एवं पुरस्कार वितरण लगायतका कार्यक्रमहरु कृषि विभाग परिसरमा संचालन हुनेछन। रैथाने कृषि उपज प्रदर्शनीमा सातै प्रदेशको प्रतिनिधित्व हुनेगरी जम्मा २५ वटा स्टलहरु रहने बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले जनाएको छ।
विभागले दिवसका अवसरमा प्रादेशिक निकायहरु, स्थानीय तह लगायत सरकारी र गैर सरकारी संस्थाहरु र निजी क्षेत्रलाइ पनि यस सम्बन्धी कार्यक्रमहरु संचालन गरी मनाउन आव्हान समेत गरेको छ ।
“स्वस्थ जीवन र पर्यावरणका लागि कृषि जैविक विविधतामा आधारित रहेर कृषि आनुवंशिक श्रोतहरु (कृषि बाली एवं सम्बन्धित जंगली प्रजाती, घाँसे बाली, पशुपन्छी, मत्स्य एवं जलीय आनुवंशिक श्रोत, कृषि महत्वका कीरा र कृषि महत्वका सुक्ष्म जीव) र कृषकका परम्परागत ज्ञान समेतको संरक्षणमार्फत स्वस्थ जीवन यापनका लागि उपयुक्त पर्यावरण बनाउने दिशामा सचेतना अभिवृद्धि लगायतका कार्यक्रम तथा क्रियाकलाप सप्ताहव्यापी रुपमा आयोजना गरि भव्यताका साथ मनाउन सात वटै प्रदेश र मातहतका निकायहरु, सबै स्थानीय तहहरु, कृषक, कृषक समुह/सहकारी, विभिन्न संघ/संस्था, मिडिया र सम्पूर्ण सरोकारवालाहरुमा आव्हान गरिन्छ” विज्ञप्तिमा भनिएको छ ।
नेपाल सरकार मन्त्रीपरिषद् बाट मिति २०७९/५/२७ मा प्रत्येक बर्षको माघ १ गतेलाई राष्ट्रिय कृषि जैविक विविधता दिवसको रुपमा मनाउने निर्णय भएको थियो ।
नेपालमा कृषि आनुवंशिक श्रोत (कृषि बाली एवं सम्बन्धित जंगली प्रजाती, घाँसे बाली, पशुपन्छी, मत्स्य एवं जलीय आनुवंशिक श्रोत, कृषि महत्वका कीरा र कृषि महत्वका सुक्ष्म जीव) मध्ये करिव ४० प्रतिशत लोप भैसकेको हुन सक्ने अनुमान गरिएको छ ।






