काठमाडाैं, पुस २७ –
अवैध रूपमा भन्सार छलि लैजान लागेको सुनजस्तो देखिने धातुसहित ३ जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सप्तरी घर भएका ३२ वर्षीय कृष्ण प्रसाद चौधरी, ३० वर्षीय मोहम्मद ईलियास र सुनसरीको इटहरी उपमहानगरपालिका-१९ घर भएका २७ वर्षीय शिव शंकर चौधरी रहेका छन् ।
हिमालय एयरलाइन्सको उडानद्वारा दोहाबाट शु्क्रबार काठमाडौं आएका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा मलद्वार भित्र लुकाईछिपाई भन्सार छलि लैजान लागेको सुनजस्तो देखिने धातुसहित फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले कृष्ण प्रसादको साथबाट करिब ५८.३३ ग्राम तौलको सिक्री १ थान, मोहम्मदको साथबाट करिब ५८.३३ ग्राम तौलको सिक्री १ थान र शिव शंकरको साथबाट करिब ५८.३३ ग्राम तौलको सिक्री १ थान बरामद गरेको छ ।
उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।






