राप्ती, पुष २५
नेकपा एमाले राप्ती नगरपालिका वडा नं–६ को आयोजनामा बिहीबार राष्ट्रिय आधारभूत विद्यालय पडरियामा न्यानो कपडा एवं शैक्षिक सामग्री वितरण गरिएको छ । नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा बागमती प्रदेशसभा संसदीय दलका नेता, पूर्वमन्त्री जगन्नाथ थपलियाको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश कमिटी उपाध्यक्ष दावादोर्जे लामा, सदस्यहरु गोविन्दप्रसाद कँडेल, श्यामलाल विक, प्रदेश विभागीय सदस्य जल्लु महतो थारु, राप्ती नगर कमिटी अध्यक्ष राजकुमार कँडेल, जिल्ला कमिटी सदस्य एवं वडा नं–६ का इन्चार्ज उत्तम सेढाईं, जिल्ला समन्वय समिति सदस्य गुनु विकलगायतका नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुखअतिथि पूर्वमन्त्री जगन्नाथ थपलियाले सामाजिक कार्यमा नेकपा एमाले निरन्तर जोडिने बताउँदै राप्ती–६ मा बागमती प्रदेश सरकारबाट प्रशस्तै बजेट विनियोजन नेकपा एमालेको पहलमा भएको स्मरण गराए ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै युवानेता नेकपा एमाले जिल्ला कमिटी सदस्य एवं वडा नं–६ का इन्चार्ज उत्तम सेढाईंले विभिन्न समयमा पार्टीको समन्वयमा हुने यस्ता मनकारी मानवहितका कार्यक्रमले नेकपा एमाले जनताको पार्टी भएको पुनर्पुष्टि गर्ने गरेको प्रसङ्ग उल्लेख गर्दै प्रवासी मञ्च पोल्यान्डका रुपक थापा र वडा कमिटी सदस्य धनराज चौधरीलाई सहयोगका लागि धन्यवाद व्यक्त गरे ।
सो अवसरमा राष्ट्रिय आधारभूत विद्यालय राप्ती–६, पडरियाका ११० जना विद्यार्थीहरुलाई अभिभावकहरुको उपस्थितिमाा न्यानो कपडा स्वेटर तथा शैक्षिक सामग्री वितरण गरिएको थियो ।
कार्यक्रमको अध्यक्षता नेकपा एमाले राप्ती–६ का अध्यक्ष शिवनारायण चौधरीले गरेका थिए भने कार्यक्रम सञ्चालन युवानेता अनेरास्ववियु बागमती प्रदेश कमिटीका सदस्य सुजन थापा काजीले गरेका थिए ।