काठमाडाैं, पुस २४ –
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम टुङ्ग्याउन दबाब सृजना गर्नुपर्ने बताएका छन् ।
बेपत्ता योद्धा राजेन्द्र ढकालको २६ औं स्मरण दिवसका अवसरमा आज काठमाडौं आयोजित ‘शान्ति प्रक्रिया र बेपत्ता नागरिकको सार्वजनिकीकरणको सवाल’ विषयको कार्यक्रममा उनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन सबैले दबाब सिर्जना गर्नुपर्ने अवस्था उत्पन्न भएको बताए ।
शान्ति प्रक्रियालाई निष्कर्षमा पुग्न नदिन केही तत्व लागेका उल्लेख गर्दै उनले भने, ‘शान्ति प्रक्रियालाई जटिल मोडमा पुर्याउने प्रवृत्ति पनि देखिएको छ, त्यो तत्वले टुङ्गिन लागेको शान्ति प्रक्रियालाई रोकिराखेको छ ।’
शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई चाँडो टुङ्गोमा पुर्याउन सबै राजनीतिक दल इमान्दार हुनुपर्नेमा जोड दिँदै उनले यस सम्बन्धमा कांग्रेस र एमालेसँग छलफल गर्ने बताए ।