सप्तरी, पुस २२ –
पछिल्लो तीन महिनामा सप्तरी प्रहरीले १९२ फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले सोमबार पत्रकार सम्मेलन गर्दै गत असोज १७ देखि यही पुस २२ गतेसम्मको प्रगति विवरण सार्वजनिक गरेको हो ।
फैसला कार्यान्वयनका क्रममा पक्राउ गरिएका उनीहरूबाट ३३ वर्ष ११ महिना सात दिन कैद तथा पाँच लाख ९९ हजार जरिवाना भुक्तान गराउन अदालतलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।
यसैगरी, १२१ जनाको म्याद थप गरी अनुसन्धान अघि बढाइएको उनले बताए । यस अवधिमा भन्सार छली गरी ल्याउँदै गरेको ७० लाख ७२ हजार बराबरको समान तथा उक्त कार्यमा संलग्न आठ जनालाई भन्सार कार्यालयमा बुझाइएको छ ।
यसैगरी, सो अवधिमा प्रहरीले दुई टन ६४ किलो गाँजा बरामद गर्नुका साथै सात जनालाई पक्राउ गरिएको एसपी खतिवडाले बताए ।
यस्तै, लागुऔषध कारोबारमा संलग्न तीन जनालाई समेत पक्राउ गरिएको छ । यस अवधिमा १८५ सवारीसाधन दुर्घटना भएकामा सात जनाको मृत्यु तथा ३८४ जना घाइते भएका प्रहरीले जनाएको छ ।