काठमाडौं, पुस १७ –
नेकपा (एमाले)को कारबाहीमा परेका नेता भीम रावलले एमालेले साधारण सदस्यसमेत खोसेपछि विकल्प खोज्नुपरेको बताएका छन् ।
एमालेले संगठित सदस्यबाट हटाएपछि बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रावलले एमालेभित्र केपी ओलीका गुटबाट आफू कोपभाजनमा परेको र विकल्प खोज्नुपर्ने अवस्थामा पुगेको बताएका हुन्।
उनले पार्टी जीवनको ४९ वर्ष र राजनीतिक जीवनको ५१ वर्ष केपी ओलीले खोसेको बताए । रावलले अध्यक्ष ओलीले वार्ताको नाटक गरेर पछि खबर गर्छु भनेकामा खबरसमेत नगरी कारबाही गरेको उल्लेख गरे ।
पार्टीमा रहँदा आन्दोलन, पार्टीको पदाधिकारी र पार्टीबाट सांसद, मन्त्री र शान्ति प्रक्रियामा राष्ट्रलाई केन्द्रमा राखेर काम गरेको भन्दै एमालेले साधारण सदस्यका रूपमा समेत भूमिका खेल्न रोकेपछि विकल्प खोज्न बाध्य भएको उनको भनाइ छ ।