चितवन, पुष १३ –
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनका केन्द्रीय र आंगिक क्याम्पसका प्राध्यापकहरुलाई ५ दिने तालिम दिइएको छ ।
विश्वविद्यालयको निरन्तर शिक्षा केन्द्रका निर्देशक प्रा.डा. निराजन भट्टराईले शिक्षा केन्द्रले विश्वविद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको क्षमता विकास गर्दै आएको र क्षमता विकास गर्ने क्रममै ५ दिने तालिम सम्पन्न गरिएको बताउनु भयो ।
बिहानको चरणमा विश्वविद्यालयमा हालसालै नियुक्ति लिएकाहरुलाई वैज्ञानिक लेखन (साइन्टिफिक राइटिङ्) को तालिम दिइएको थियो ।
प्राध्यापकहरुले गरेका वैज्ञानिक अनुसन्धान तथा खोजमुलक कामहरुलाई कसरी संसारले पढन् सक्ने, संसारमा पुर्याउने र वैज्ञानिक तवरले लेख्ने पढ्ने बनाउन सक्ने भन्ने उद्देश्य बिहानको तालिम राखिएको थियो ।
त्यसैगरी दिउसो (दोश्रो) चरणमा अनुसन्धानबाट लिएका तथ्यांकहरुको विश्लेषण कसरी गर्ने, त्यसबाट प्राप्त नतिजाहरुलाई कसरी प्रसार गर्नका लागि किसानले बुझ्ने भाषामा वा विश्व बजारमा विश्वका वैज्ञानिकहरुले बुझ्ने भाषामा वा नीति निर्माताहरुले बुझ्ने भाषामा कसरी त्यसको विश्लेषण गरेर ल्याउन सकिन्छ भन्ने विषयमा तालिम दिइएको डा. भट्टराईले बताउनु भयो । तालिमको बिहानको चरणमा २० जना र दोश्रो चरणमा ३० जनाको सहभागिता रहेको थियो ।
युएसएआईडी नेपालको वित्तिय सहयोग, अमेरिकाको टस्केजी विश्वविद्यालयको नेतृत्व, भारतको सदगुरुसँगको सहकार्य र कृषि विश्वविद्यालयको निरन्तर शिक्षा केन्द्रको संयोजनमा तालिम दिइएको हो ।
टस्केजी युनिभर्सिटी अमेरिकाका प्राध्यापक एवम् परियोजनाका टिम लिडर प्रा.डा. नरकाजी गुरुङ्गले प्राध्यापकहरुका लागि एकदमै महत्वपूर्ण तालिम दिइएको बताउनुभयो ।
तालिममा क्यालिफोर्निया स्टेट युनिभर्सिटीका प्रा.डा.अनिल श्रेष्ठ प्रशिक्षण गर्नुभएको थियो । प्रशिक्षित भएपछि प्राध्यापकहरुले तालिम निकै प्रभावकारी भएको प्रतिक्रिया दिएका छन् ।