१ पुस, काठमाडौं-
सर्वोच्च अदालतले नेकपा (एमाले)लाई जग्गा दान दिने भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङको निर्णयविरुद्धको रिट खारेज गरिदिएको छ ।
जग्गादानको घोषणाविरुद्ध दायर भएको रिट निवेदन सर्वोच्च अदालतको संयुक्त इजलासले खारेज गरेको हो ।
न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको इजलासले केहीबेरअघि रिट निवेदन खारेज गरेको विवरण सर्वोच्च अदालतले वेबसाइटमा राखेको छ । तर आदेशको विवरण सार्वजनिक भइसकेको छैन ।
गत २५ असोजमा भाटभटेनी सुपरमार्केटका अध्यक्ष गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले एमालेको पार्टी कार्यालय निर्माणका लागि १० रोपनी १४ आना जग्गा प्रदान गरेका थिए । गुरुङले नै भवन निर्माण गरेर एमालेलाई हस्तान्तरण गर्ने गरी शिलान्यास नै गरिएको थियो । गुरुङले कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरको जग्गा दान दिएका हुन् ।