चितवन, मंसिर १६ –
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनमा दोस्रो संस्करणको ‘कृषि प्रदर्शनी तथा कृषक मेला– २०८१’ हुने भएको छ । मेलाको आयोजक कृषि तथा वन विज्ञान विश्वविद्यालयले मेलाबारे आज भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
यही मङ्सिर २९ गतेदेखि आगामी पुस ३ गतेसम्म मेला विश्विद्यालयको कृषि संकाय परिसरमा मेलाको आयोजना हुने छ । मेला आयोजक समारोह समतिका संयोजक एवं विश्वविद्यालयका अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक डा ऋषिराम कट्टेलका अनुसार किसानको ज्ञान, सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको बताए ।
उनका अनुसार कृषि प्रदर्शनी तथा कृषक मेलामा कृषि, पशु व्यवसाय तथा भेटेरीनरी, र वन क्षेत्रका गरी १०० भन्दा बढी स्टल (कक्ष) रहनेछन् । साथै १० हजार भन्दा बढी सहभागीहरु र २०० भन्दा बढी प्रदर्शकहरुको सहभागिता रहने अपेक्षा गरिएको छ । किसान, शिक्षाप्रेमी, बुद्धिजीवी, विद्यार्थी, उद्यमी व्यवसायी र सरोकारवाला सबैको सहभागिता हुने अपेक्षा आयोजकको छ ।
मेलामा कृषि प्रविधि, नवप्रवर्तन तथा अनुसन्धानका विषयमा समेत छलफल हुनेछ । मेलामा किसानलाई आवश्यक पर्ने नयाँ प्रविधिको प्रदर्शनी गरिनुका साथै किसानले अवलम्बन गरेका प्रविधि, सीप तथा ज्ञानको विषयमासमेत छलफल हुने जनाइएको छ ।
मेलामा कृषि क्षेत्रको नीतिगत बहस, कृषि रुपान्तरणका विषयमा कृषि उद्यमी तथा सरोकारवालासँग छलफल, दिगो पशुपालन भेटेरीनरी सेवा तथा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन लगायतका विषयमा पनि समूहगत छलफल हुने छ ।
यसैगरि मेला अवधिभर विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु, सांस्कृतिक प्रतियोगिताका साथै कृषि, पशुपन्छी तथा वनका क्षेत्रमा उद्यम, व्यवसाय, नवप्रवर्तन र अनुसन्धान मार्फत योगदान पुर्याएका विश्वविद्यालयका पूर्व विद्यार्थीहरुलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको आयोजकले जनाएको छ ।
किसान, विद्यार्थी र अनुसन्धानकर्ताबीच छलफल तथा कृषि क्षेत्रमा देखिएका समस्याको समाधानका लागि केला कोशेढुङ्गा बन्ने आयोजकको विश्वास छ ।
पहिलो संस्करणको मेला वि.सं. २०७६ सालमा भएको थियो । ५ वर्षपछि हुन लागेको मेलालाई अब हरेक दुई÷दुई वर्षमा गरिने संयोजक कट्टेल बताउँछन् ।