चितवन मङ्सिर १०
नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका वडा नं–६ स्थित नौकिलोमा आइतबार ६ः४५ बजे चामल बोकेको ट्रक अनियन्त्रित भई सडक किनारमा पल्टिँदा घाइते भएका पाँच जनामध्ये दुई जनाको मृत्यु भएको छ ।
नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख ३४९० नम्बरको ट्रक दुर्घटनामा गम्भीर घाइते भएका मकवानपुरको मकवानपुरगढी गाउँपालिका–६ बस्ने ३८ वर्षीय श्याम बजगाईं र सोही ठाउँ बस्ने ३१ वर्षीय दीपक दाहालको भरतपुर सरकारी अस्पतालमा मृत्यु भएको हो । मृतक दुवैको परिवारका आफन्तले शवको सनाखत गरेका छन् ।
यस्तै, घाइते ट्रकका सह–चालक रामेछाप घर बताउने २१ वर्षीय मानबहादुर विकको एलाइभ अस्पताल भरतपुर, हेटौँडा उपमहानगरपालिका वडा नं–१८ बस्ने ६० वर्षीय दलबहादुर कोइराला र मकवानपुरको मकवानपुरगढी गाउँपालिका–६ बस्ने २७ वर्षीय सुसन विकको नयाँ मेडिकल कलेज (सिएमसी) भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ट्रक चालक मकवानपुरगढी–६ बस्ने २८ वर्षीय दिनेश पुडासैनीलाई सोमबार बिहान ३ः०० बजे इलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।